Caminar by TEMPLATED

संगठन परिचय

सेती, धनगडी, कैलाली

यातायात व्यवस्था कार्यालय,सेती।

यातायात व्यवस्था विभाग नेपालको यातायात क्षेत्रलाई नियमन, विकास, व्यवस्थापन र सहजीकरणका लागि स्थापना भएको केन्द्रिय स्तरको सरकारी निकाय हो । यातायात व्यवस्था विभाग हाल नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको छ । यातायात क्षेत्रको समग्र व्यवस्थापनका लागि वि.सं.  २०४१ सालमा यो विभागको स्थापना भएको हो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को कानूनी प्रावधान वमोजिम विगतदेखि यस विभागले मानिस तथा बस्तुहरुको आवागमन र ओसार-पोसारलाई सुरक्षित, भरपर्दो र सुलभ बनाउन आफुलाई केन्द्रित गर्दै आइरहेको छ ।

 

नेपालको संविधान २०७२ ले नेपालको राजकीय सत्ताको मुलभुत संरचनालाई संघीय प्रणाली मार्फत शासकीय अधिकारहरु संघ, प्रदेश र स्थानीय तहमा काम कर्तव्य र अधिकारहरुको विन्यास गरेको छ। शासकीय अधिकारहरुको विन्याससँगै नेपालको वर्तमान संविधानले नेपालको यातायात क्षेत्रको व्यवस्थापनका सन्दर्भमा संवैधानिक रुपमा केहि मूलभुत व्यवस्थाहरु गरेको छ । नेपालको संविधान २०७२ को धारा ५७ मा राज्यशक्तिको बाँडफाँड अन्तर्गत उपधारा १ मा संघको अधिकार अनूसूची – ५ मा उल्लेखित बिषयमा निहित रहने छ भनि उल्लेख भएको छ भने संविधानको अनुसूची – ५ मा संघको अधिकार अन्तर्गत यातायात क्षेत्रका सन्दर्भमा राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन भनि उल्लेख गरिएको छ । यातायात क्षेत्रका सन्दर्भमा अनुसूची – ६ अन्तर्गत प्रदेशको अधिकार सूचीमा प्रदेश स्तरको परिवहन, प्रदेश लोकमार्ग समावेश गरिएको छ ।

   

वर्तमान संविधानको संवैधानिक व्यवस्था बमोजिम यातायात क्षेत्रको व्यवस्थापकीय ‍भूमिका प्रदेश मातहत स्थानान्तरण भए मुताविक हाल देश भित्रका यातायात व्यवस्था कार्यालयहरु प्रदेश सरकार मातहत रहि प्रदेश सरकारको खटनपटन बमोजिम सवारी चालक अनुमति पत्र वितरण, कर दस्तुर संकलन लगायत यातायात क्षेत्र सम्बद्व अधिकांश व्यवस्थापकीय कार्यहरु भइरहेका छन् । दिन प्रतिदिन बढ्दै गइरहेको जनसंख्या र सोहि अनुपातमा बढिरहेको सवारी चापलाई नियमन, व्यवस्थापन र सहजीकरण गर्न केन्द्रीय स्तरको संगठनका रुपमा स्थापित यातायात व्यवस्था विभागबाट मात्रै सम्भव नहुने हुँदा प्रदेश सरकार मातहत रहेका यातायात व्यवस्था कार्यालयहरुले प्रचलित कानूनको परिधी भित्र रहि सेवा प्रवाह गरिरहेको अवस्था छ ।

 

वर्तमान सन्दर्भमा यातायात व्यवस्था विभागको काम, कर्तव्य, अधिकार र जिम्मेवारी मुलतः अन्तरतह समन्वय र सहजीकरण गर्ने भूमिकामा आधारित देखिएको छ ।संघीय शासन प्रणालीको पछिल्लो अभ्यास बमोजिम यातायात क्षेत्र सम्बद्व प्रचलित संघीय नीति, नियम, कार्यविधि र निर्देशिकाहरुको समयसापेक्ष सुधार, संशोधन र परिमार्जनको कार्य निरन्तर रुपमा भइरहेको छ । यस विभागले यातायात क्षेत्रको समग्र विकास र व्यवस्थापनका लागि सूचना प्रविधिको प्रयोग गरि प्रविधिमा आधारित सेवा प्रवाह सुनिश्चित गर्न विभिन्न योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै आइरहेको छ । बिशेषतः संघीय शासन प्रणालीको संवैधानिक तथा कानूनी प्रावधान बमोजिम नीतिगत सुधार, समन्वय र सहजीकरणमा विभाग क्रियाशिल रहि आएको छ ।